एमआरआई मेसिन ल्याउन भरतपुर अस्पताल र ईष्टवेष्ट कम्पनीबीच सम्झौता

चितवन । संघीय अस्पताल भरतपुर अस्पतालमा खरिद गर्न खोजिएको एमआरआई मेसिन खरिदका लागि द्विपक्षीय सम्झौता भएको छ । गत असार ३० गते अस्पताल र ईष्टवेष्ट कम्पनीसँग सम्झौता भएको हो । असार ३१ मा बैङ्क खाता खोलेर एलसीको काम अघि बढेकाले मेसिन आउने निश्चित भएको अस्पतालले जानकारी दिएको छ ।
इस्ट वेस्ट नामको सप्लायर्स कम्पनीले मात्र टेन्डर हालेको अस्पतालले जनाएको छ । मेसिन जर्मनमा बन्नेछ । ई–बिडिङमार्फत टेन्डर आह्वान गरिएको थियो । अत्याधुनिक अवस्थाको एमआरआई मेसिन खरिद गर्नु परेको भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आह्वान गरेको हो । ३० करोड बराबरको मेसिन खरिद गर्न लागिएको भरतपुर अस्पतालले जनाएको छ ।
आगामी पुस महिनामा अस्पतालमा मेसिन आइपुग्ने र माघबाट सेवा नै सुरु गर्न सकिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । हाल मेसिन नहुँदा बिमा तथा अन्य बिरामीले चितवन मेडिकल कलेज अफ साईन्सेसमा रिफर गर्नुपर्ने बाध्यता छ ।
एमआरआई मेसिन आएपछि सेवाग्राहीले अन्य अस्पतालभन्दा सस्तो दरमा सेवा लिन सक्ने अध्यक्ष पौडेलको भनाई छ ।
भरतपुर अस्पतालको सेवा थप गुणस्तरीय बनाउनका लागि एमआरआई मेसिन अत्यावश्यक रहेको अस्पतालका मेसु डा. कृष्ण प्रसाद पौडेलले बताउनु भयो । विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने भएकाले मेसु पौडेलको भनाई छ ।
गत वर्ष जनवरी १ तारिखका दिन ४५ दिनको समय राखेर भरतपुर अस्पतालले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ)अन्तर्गत एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाएको थियो ।
पाँच वर्षको वारेन्टी रहने, वर्षमा तीनपटक नियमित मर्मत गर्ने तथा आवश्यक पर्दा कुनै पनि बखत १० वर्षसम्म सेवा र मेसिनका पाटपुर्जा उपलब्ध गराउनुपर्ने, मेसिन सन् २०१५ भन्दा पछिको मितिमा उत्पादन भएको हुनुपर्ने लगायतका सर्त बोलपत्रमा उल्लेख छ । नेपालमा यो प्रकृतिको एमआरआई मेसिन भेरी अस्पताल सुर्खेतमा केही दिनअघि मात्र जडान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्