मन्त्री मोदीद्वारा राष्ट्रसङ्घका पूर्व महासचिव मुनलाई आँखी झ्याल र ढाका टोपी उपहार

दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री मोदीले मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिनुभएको छ ।
दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरू सहभागी भइरहेको मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका पूर्व महासचिव बान कि मुनलाई ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्याल उपहार दिनुभएको हो ।

उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गर्नुभएको छ । “नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुनुहुँदा दिनुभएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्न चाहन्छु” मन्त्री मोदीले भन्नुभयो, “नेपाल सरकार सदैव यहाँहरूको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ ।”
संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरूको बारेमा प्रशंसा गर्नुभयो । उनले आफूलाई नेपालको सन्दर्भमा राम्रो स्मृति रहेको बताउँदै नेपालका लागि आवश्यक सकारात्मक साथ दिन आफू सदैव तयार रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्