तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एभोकाडोको व्यावसायिक खेती

तनहुँ । एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘घ्यू फल’ भनेर चिनिने एभोकाडोको खेती सुरु गरिएको छ । आँबुखैरेनी–२ मा ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा तथा सामग्री वितरण गरिएको हो ।

file photo

उक्त बिरुवा रोपेको तेस्रो वर्षबाट उत्पादन दिन सुरु हुने र मूल्य पनि राम्रो पाइने भएकाले यस खेतीलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

समुन्द्री सतहबाट दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा यसको खेती गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । तनहुँमा पाँच हेक्टर जमिनमा बिरुवा लगाएर खेती सुरुआत गरिएको र यस वर्ष अझै विस्तार गर्दै लैजाने योजना रहेको छ ।

तिवारीका अनुसार गत वर्ष केन्द्र आफैँले दुई हजार बिरुवा उत्पादन गरेर र बाहिरबाट थप दुई हजार बिरुवा मगाएर चार हजार बिरुवा कृषकलाई वितरण गरेको थियो । यस वर्ष पाँच हजार बिरुवा वितरण गर्ने योजना रहेको छ । कृषकलाई ७५ प्रतिशत अनुदानमा प्रतिबिरुवा रु २५ मा वितरण गरिएको हो ।

एभोकाडो खेती गरेर बाँझो जमिनको सदुपयोग गर्न सकिन्छ । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडो उच्च रक्तचाप, मधुमेह र मुटु रोगका बिरामीका लागि अति नै लाभदायक मानिन्छ । एभोकाडो म्याग्दीमा भित्रिएको नयाँ जातको फलफूल हो । नेपालमा मेक्सिकन, ग्वाटेमिलन र भारतीय जातको एभोकाडो खेती गरिने छ ।

एभोकाडो मेक्सिको र अमेरिकामा उत्पत्ति भएको विश्वास गरिन्छ । धनकुटाको पाख्रिबासमा २०२५ सालमा फल खान ल्याएको दानाको बियाँ उम्रिएपछि विस्तार भएको पाइन्छ । यो फलको थोकमा प्रतिकिलो रु दुई सय र फुटकर रु तीन सय ५० देखि रु चार सयसम्म मूल्य पर्दछ । यसको जुस बनाएर समेत उपभोग गर्न सकिन्छ ।

ठूला होटल, पर्यटक, विदेशबाट आएका र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलका रूपमा उपभोग गर्ने गर्दछन् । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button