तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौँ । शीर्ष क्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा नेपालले मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेर उपाधि जितेको छ ।

file photo

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २१ रनको सानदार जित दर्ता गरेको हो । नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो ।

मलेसियाका लागि मुहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले ।

पहिलो विकेटका लागि ओपनर द्वय निरज यादव र सुर्यांशु कोइरालाले ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४७ रन बनाए । कोइरालाले १८ रन बनाए ।

दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनीय साझेदारी हुन सकेन । पाँचौँ विकेटका लागि सन्तोष यादव र नरेन भट्टले १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्‍याए । सन्तोष यादवले २६ रनको योगदान गरे । अशोक धामीले १२ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।

नेपाल लगातार तेस्रो संस्करणमा च्याम्पियन भएको हो । यसअघि नेपालले २०१७ र २०१९ मा यू–१६ को उपाधि जितेको थियो ।

यसअघिको संस्करण भने यू–१६ रिजनको नामले भएको थियो । यस संस्करणमा नेपाल अपराजित रुपमा च्याम्पियन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button