तपाईँ सुन्दै हुनुहुन्छः

गुलियो उखुको नुनिलो कथा

नवलपरासी । प्रतापपुरका भोज बहादुर यादव उखु कृषक हुन् । उखु खेतलाई नै जीविकोपार्जन बनाएर दश नङ्ग्रा खियाएका उनी अहिले हात जोडेर आफ्नो पसिनाको मूल्य मागिरहेका छन् । भोज बहादुरको ७२ सालदेखिको तीन लाख बढी रकम भुक्तानी उठ्न बाँकी छ । त्यही रकमका लागि अहिले पनि उनी सम्बन्धित निकायसँग हार गुहार गरिरहेको बताउँछन् । ‘सरकारले न समयमा समर्थन मूल्य तोक्छ न त अनुदान बापतको रकम नै दिन्छ,मिल सञ्चालक बाटै प्रताडित भएका हामीलाई राज्यले थप पीडा दियो’ उहाँको गुनासो छ ।

भोज बहादुर मात्रै होईनन पश्चिम् नवलपरासीको प्रतापपुर र सुस्ताका हजारौँ किसानको अवस्था अहिले उस्तै छ ।
उखु खेती पश्चिम् नवलपरासीका किसानलाई अहिले अभिसाप जस्तै बनेको छ । मेहनत गरेर उब्जाएको उखुको भुक्तानी लामो समय बितिसक्दा पनि नपाउँदा यहाँका किसानहरू कहिले काठमाडौँको चर्को घाममा आन्दोलन त कहिले जिल्लामै हार गुहार गर्न बाध्य हुनुपरेको गुनासो गर्छन् ।

‘गुलियो उखु उत्पादन गरेका हामी किसान नुनिलो पसिनाको मूल्य नपाएर वर्षौँदेखि प्रदाडित हुनु पर्‍यो’भोजबहादुरले दुखेसो पोखे ।

जिल्लामा सञ्चालित तीनवटा चिनी मिलले किसानको झण्डै ६ करोड बढी भुक्तानी दिनबाँकि छ । किसानहरू आफ्नो समस्या कसैले समाधान नगरीदिएको बताउँछन् । समस्या समाधानका नाउँमा धेरै निकायहरू आए पनि तिनीहरूले किसान माथि राजनीति गरी उल्टै मिल सञ्चालकहरूकै पक्षपोषण गरेको उनीहरू बताउँछन् ।

किसानले आन्दोलन गरेको समयमा यो मुद्दा चर्किने गरेपनि बिस्तारै सेलाउँदै जानू र सम्बन्धित निकाय मौन रहनुले उखु किसानका समस्या समाधान गर्न कोही पनि गम्भीर नबनेको उनीहरू बताउँछन् ।

‘समस्या समाधान गरिदिन्छु भन्दै धेरे नै आउँछन्, अन्तिममा मिल सञ्चालकहरूसँगै मिलेर आफ्नो स्वार्थ पुरा गर्छन्, हामी किसान पीडितको पिडिनै भयौँ’भोजबहादुरले भने ।

मरीमरी दुःख गरेर लगाएको उखुको मूल्य नपाएपछि किसानहरुले उखु खेती गर्नै छाडेको भोजबहादुरले बताए । ‘मरीमरी बगाएको पसिनाको मूल्य पाइदोरैछ, के खेती गर्नु त ?’भोजबहादुरले भने । ‘अब त अति नै भयो बरु खेत बाँझै बसोस्, यो खेती नगर्ने’ उहाँले आक्रोश पोख्नुभयो ।

नवलपरासी पश्चिमका किसानहरू अहिले उँखुखेती छोडेर बदाम, धान, केरा तेतीतर्फ लागेको उहाँले बताउनुभयो ।
पहिले जिल्लामा साना ठुला गरेर ६ वटा चिनीमिल रहेकोमा अहिले जिल्लामा तीन वटा मात्र चिनीमिलहरु सञ्चालनमा छन् ।
जिल्लामा उखुको उत्पादन २८ देखि ३० लाख क्विन्टल हुने गरेकोमा अहिले १५–१६ लाख क्विन्टलमा झरेको छ ।

किसानले आफ्नो उत्पादनको मूल्य पाऊन बर्षौ लाग्ने गरेका कारण नै उखु खेतितर्फ दिनप्रतिदिन आकर्षण घट्दै गएको किसनाहरुको भनाई छ । ‘सधैँ नगदमा कच्चा पदार्थ खरिद गर्नुपर्ने किसानहरू आफ्नो उत्पादन भने उधारोमा बेच्न बाध्य भएकाले उखु खेतीप्रतिको आकर्षण घटेको सुस्ताका किसान रामआश्रय गुप्ता बताउनुहुन्छ । ‘मल, बिउँदेखि खनजोत, गोडमेल सबै लगानी नगदै गर्नुपर्छ, पैसा लिन भने बर्षौ रुवावासी गर्नु पर्ने उखु खेती गर्नु त ?’

कृषकहरू अहिले उखु खेतीबाट विस्थापित हुँदा जिल्लाका चिनी मिलहरूलाई सिजनमै उखुको अभाव छ । अहिले जिल्लाको उखुले ७० दिनसम्म पनि चल्न गाह्रो हुने मिल सञ्चालकहरू बताउँछन् । विभिन्न समयको उधारो तथा अनुदान प्राप्तहुन बाँकी ६ करोड भन्दा बढी रहेको हुँदा किसान सधैँ पीडामा रहेका छन् ।

पश्चिम नवलपरासीमा यति बेला लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा चिनी उद्योग सञ्चालित छन् । यी पनि नियमित रुपमा सञ्चालित छैनन् । जिल्लामा उखुको उत्पादन ३५ लाख क्विन्टलबाट १५ लाख क्विन्टलमा झरेको कृर्षी ज्ञान केन्द्रको तथ्याङ्क छ ।
‘सरकारले अघिल्लो वर्ष प्रती केजी २० रुपैयाँ अनुदान तोकेपनि हालसम्म रकम पाइएन’ प्रतापपुरका उखु कृषक रिंकु गुप्ताले भन्नू भयो । गुप्ताले गुजारा चलाउन उखु खेती गरपनि उल्टै उखुले नै उठिबास लगाएको बताउनुभयो ।

किसानहरुले २०७३ सालदेखि पाउनुपर्ने ७० लाख अनुदान पनि नपाएको देखिन्छ । पछिल्लो समर्थन मूल्य अन्तर्गतको करिब ६७ लाख । त्यस्तै बाली भित्राउने अन्तिम समयमा उद्योगहरूले उधारो बाँकी करिब ५ करोड रहेको छ । यति धेरै रकम किसानले समयमा पाउन नसक्दा किसान निराश बनेका छन् ।

यता उखु उत्पादक कृषक संघ पश्चिम् नवलपरासीका अध्यक्ष एवं प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आफूले मिल व्यवस्थापन समितिलाई पटक पटक पत्र नै काटेर रकम किसानको बक्यौता रकम उपलब्ध गराऊन अनुरोध गरेको बताउनुहुन्छ।

भुक्तानी ,मल,बिउबिजनको समस्याले ग्रसित यहाँका किसान उखु बाट विस्थापित भई बदाम खेती हुँदै अहिले केरा खेतीसम्म आइपुग्दा समेत किसानको समस्या जस्ताको त्यस्तै छ । कृषिकर्मकै कारण चुर्लुम्म ऋणमा डुबेका उनीहरू ऋण तिर्न मिटरब्याजी साहु महाजनको शरणमा पुग्नु पर्ने बाध्यात्मक अवस्था छ । जुन कुरा देशभरिमै सबैभन्दा बढी मिटरब्याजी पीडितहरू पश्चिम् नवलपरासीमा रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button