तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकार जनताको सरकार हो : मुख्यमन्त्री चौधरी

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार जनताको सरकार भएको बताउनुभएको छ । 

आज तानसेन सदरमुकाम तानसेनमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले सबै नागरिकको गुनासो सुनेर बजेट विनियोजन गरि विपन्न नागरिकलाई स्वरोजगार बनाउनेतर्फ आफ्नो नेतृत्वको सरकार लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले प्रदेशको प्रमुख लक्ष्य समृद्धि हासिल गर्ने भएको हुँदा त्यसको लागि पूर्वाधार विकास र नागरिकको आर्थिक स्तर वृद्धिबाट नै सम्भव रहेको धारणा राख्नुभयो । 

आर्थिक अवस्था कमजोर रहेको वर्गलाई आय–आर्जनमा जोडेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुख्यमन्त्री चौधरीले गरिब निमुखा जनताको आयस्तर कमजोर हुँदा ती वर्ग झन गरिबीबाट पिल्सिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले रोजगार दिने संस्था र व्यक्तिलाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम र बजेट बनेको बताउनुभयो ।  

महिला, दलित तथा तल्लो तहसम्मको नागरिकको जीवनस्तरमा सुधार हुन नसक्दासम्म देशको विकास सम्भव नभएको बताउँदै मुख्यमन्त्री चौधरीले आर्थिक विकास कार्यक्रममार्फत स्थानीय तहसँगको समन्वयमा कार्य गर्ने बताउनुभयो ।

पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गदै मुख्यमन्त्री चौधरीले आफ्नो नेतृत्वको सरकार मिडियामैत्री भएको उल्लेख गर्नुहुँदै सञ्चार क्षेत्रको विकासका लागि पत्रकार महासङ्घसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button