तपाईँ सुन्दै हुनुहुन्छः

२० औ धान दिवस : कृषकमात्र होइन ठुला बडा देखि बालबालिका समेत खेतमा 

भोजपुर । कृषकहरू सधैँ आफ्नो कामका लागि खेतबारीमा नै व्यस्त देखिन्छ । उनीहरुलाई खेती गर्न कुनै दिवस पर्खी रहनु पर्दैन । तर भोजपुरमा धान दिवसका अवसरमा विभिन्न स्थानहरूमा धान रोपाई गरिएको छ । जहाँ ठुला बडा देखि बालबालिकाको समेत सहभागिता देखियो । 

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २० औ राष्ट्रिय धान दिवसका अवसरमा भोजपुरमा पनि कृषि ज्ञान केन्द्र, राष्ट्रिय युवा संघ नेपाल र किसान महासङ्घ भोजपुर नगर कमिटी, नेपाल तरुण दल लगायतको आयोजनामा रोपाई गरिएको छ । रोपाइमा कृषकको भन्दा पनि दिवस मनाउनेहरूको उत्साह बढी देखिन्थ्यो । 

वास्तविक कृषकहरूलाई उत्साह थप्नका लागि कार्यक्रममा सहभागी भएको आयोजक संस्थाका पदाधिकारीहरूको भनाई रहेको छ । धान दिवसमा रमाइलो गर्दे आफूहरूलाई उत्साह दिए जस्तै मल, बिउ बिजन लगायतका समस्या हुँदा पनि सहयोग हुनु पर्नेमा कृषकहरू आशावादी छन् । 

हिमचुली महिला कृषि सहकारी संस्था लिमिटेड जोखिमको आयोजनामा कृषि ज्ञान केन्द्रले भोजपुर नगरपालिका वडा नम्बर ५, जोखिममा रोपाई कार्यक्रम गरेको हो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरत कुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठ, सरकारी तथा गैर सरकारी सङ्घसंस्थाका प्रमुख, कर्मचारी, कृषक लगायतको रोपाई कार्यक्रममा सहभागिता थियो ।  

यता राष्ट्रिय युवा संघ नेपाल तथा किसान महासङ्घ भोजपुर नगर कमिटीको आयोजनामा जोखिममा नै रोपाई कार्यक्रम गरिएको छ । कृषकलाई हौसला दिनका लागि रोपाई कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । एमाले केन्द्रीय सदस्य एवं भोजपुर जिल्ला इन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यमा भएको रोपाई कार्यक्रममा केन्द्रीय सदस्य हरिबहादुर राई, जिल्ला कमिटी अध्यक्ष शरण कुमार राई, युवा, विद्यार्थी, अनेमसंघ, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र पत्रकार लगायतको सहभागिता थियो । 

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ । विसं २०६१ मा अन्तर्राष्ट्रिय धान वर्ष घोषणा भएपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button