गृह मन्त्रालयद्वारा समाचारको खण्डन
काठमाडौँ । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आज प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ ।
उक्त विषयमा आज एक पत्रिकाले केही व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा पक्राउ गर्न आदेश दिइएको भन्ने समाचार प्रकाशित गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रीले कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु या नगर्नु भनी कुनै आदेश नदिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सत्यमा आधारित नभई प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषयतर्फ जिम्मेवार रहन प्रकाशन संस्था सतर्क हुनुपर्ने स्पष्ट गरेको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा निर्देशन दिने क्रममा गृहमन्त्रीले कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुटा भएको स्पष्ट पार्नुभएको छ ।
मन्त्रालयले न्याय निरुपणसम्बन्धी यस्ता विषयमा कुनै समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुस्ट्याइँ हुने प्रबन्ध मिलाउनेतर्फ संवेदनशील हुन आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्