नोट छाप्न लायक नेपाली कागजले बजार पाएन
बाजुरा । त्रिवेणी नगरपालिका वडा नं ७ ओखरतोलाका डम्म अयडीका परिवारको प्रमुख आयस्रोत नै बडिमालिका नेपाली हाते कागत उद्योग हो । सरकारी जागिर छोडेर उद्योगमा लागेका अयडीले वर्षेनी कुहिएर खेर जाने बडुका लोक्ताको सदुपयोग गर्दै हाते कागत उद्योग स्थापना गरेका हुन् । २०५५ सालदेखि उद्योग सञ्चालन गरेका अयडीले विगतमा हाते कागत उद्योगबाट राम्रो आम्दानी बटुले । लेकमा भैँसी चराउँदै लोक्ता झिक्ने र जङ्गलमै लाेक्ता बिक्री हुन्थ्यो । घ्यु भन्दा लोक्ता विक्री गरेर भैँसी गोठालाको पनि मनग्य आम्दानीको श्रोत बनेको थियो व्यवसायी अयडीको कथन छ ।
विगतमा हाते कागज उद्योगबाट वार्षिक १४ देखि २० लाख रुपैंया कमाउँथेँ । २०७२ सालको भूकम्प र कोरोना संक्रमण यता नेपाली हाते कागतको बजार खुम्चिँदै गएको उद्योगी अयडीको ठम्याई छ । बाजुराका उच्च भूभागमा पाईने बडु नामक एक किसिमको रेसादार बोटको लोक्ता (रेसा)बाट बन्ने नेपाली हाते कागत (ताउ) नेपालमा मात्र नभएर विदेशमा राम्रै माग थियो । “ कोरोना संक्रमण पछि विदेशीले नेपालबाट कागत लैजान छोडेपछि हाते कागजको बजार घट्दै गयो । दुई तीन वर्ष यता त व्यापार व्यवसाय ठप्प छ” उद्यमी अयडीको भनाई छ ।
२०७२ साल देखि स्थापना गरेको हिमाली हाते कागतका सञ्चालक चन्द्र बुढाले पनि नेपाली हाते कागतको बजार नपाउँदा घरमै थन्क्याएका छन् । १५० कोडी हाते कागज उत्पादन गरेको तिन वर्ष भयो । गाउँमा सडक पुगेको छैन । पिठ्युँमा बोकेर कुवाडी ढुवानी गर्दा महँगो पर्छ, बजारमा प्रतिस्पर्धा छ । बनमा बडु सडिएको छ घरमा ताउ थन्क्याइएका छन् बुढाको दुखेसो छ ।
न स्थानीय तहको सहयोग छ न त घरेलु उद्योग को । सरकारी सुविधा पनि कमिसनको आधारमा पाइन्छन् । कमिसन दिन सक्दैनौँ बुढाको भनाई छ ।
गत वर्ष प्रदेश सरकार बाट १० लाख रुपैंयाको परियोजना पास भयो घर निर्माण गरेँ घरेलुले अनुगमन नै नगरी डुब्लीकेट गरेको भन्दै आएको रकम अर्कोलार्ई दियो मेरो पहुँच पुगेन अनुदान रकम पनि अर्कोले खायो बुढाको आरोप छ ।
विगतमा हाते कागजको बजार राम्रो थियो घरखर्च र बालबालिकाका पढाई खर्च धानेको थियो । संघ प्रदेश र स्थानीय तहबाट सहयोग पनि भएको थियो कोरोना संक्रमण पछि मार्केट घट्यो अहिले घर खर्च धान्नै मुस्किल छ । खप्तड क्षेडेदह गाउँपालिका शङ्करदेव नेपाली हाते कागज उद्योगका सञ्चालक कुमार रावतले भन्नुभयो ।
जिल्लामा उद्योग सञ्चालन गरौँ बजार छैन । बाटो खन्न डोजरे प्रवृत्ति आयो घर बनाउन्न मेशिन प्रयोग हुन जङ्गलमा कठ लगायत बन पैदावार सडिएका छन् । ढुङ्गा बालुवा बगरमा छ इट्टा ,आल्मुनियम र जस्ता पाता गाउँ गाउँमा गाउँ गाउँ पुग्न थाले । स्थानीय साधान स्रोत त पूर्णरुपमा विस्थापित हुने अवस्था आएको छ । खप्तड छेडेदह गाउँपालिकाका पूर्व वडा अध्यक्ष हर्क रावतले भन्नुभयो ।
विगतमा अड्डा अदालतमा फुलिस्केप, लेटर प्याडका रुपमा प्रयोग हुन्थ्यो । जन्म चिट्ठा कुण्डली बनाउन र तमसुक लेख्न पनि नेपाली कागत प्रयोग हुन्थ्यो । विदेशमा त नेपाली कागत नोट छाप्न प्रयोग हुन्छ । नेपाली ताउको प्रयोग गर्दा लामो समय सम्म टिक्ने । किरा नकाट्ने धुलोले नलाग्ने र पानीमा भिजेपनि हत्तपत्त नच्यातिने नेपाली हाते कागतको गुण हो । कागत महत्त्व स्थानीय बजारले बुझेन । स्वदेश भन्दा पनि विदेशमा यसको माग बढी थियो। पछिल्लो समयमा आर्थिक मन्दीले ब्यापार घट्यो । यसको असर ससाना उद्योग व्यवसायीलाई परेको छ उद्योगी अयडीको भनाई छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाजुराले यस वर्ष मात्र ५७ लाख साठी हजार रुपैंया बराबरका तालिम गोष्ठीको कार्यक्रम आएको छ । स–साना तालिम पनि सञ्चालन गरेको छ । परम्परागत गलैँचा बुनार्ई सिलाइकटाई, अल्लो प्रशोधन उद्यमशीलता , फर्निचर उत्पादन अचार दालमोट उत्पादन लगायतका तालिम सञ्चालन गरी १९३ जनालाई तालिम दिएको छ । तालिममै ४५ लाख २ हजार सात सय ८८ रुपैंया खर्च गरिसकेको घरेलु तथा साना उद्योग कार्यालय बाजुराका प्रमुख मान बहादुर चाढले जानकारी गराउनुभयो । जिल्लामा प्रायजसो डुब्लीकेशन हुने हुँदा भेरिफाइ गरेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ कार्यालय प्रमुखको भनाई छ ।
जिल्लामा हालसम्म तालिम तथा प्रविधि हस्तान्तरणमा करोडौँ रुपैंया खर्च भएको छ ।त्यसको उपलब्धी न्युन देखिन्छ विकासमा अपनत्व नै देखिँदैन बडिमालिका नगरपालिकाका पूर्व नगरप्रमुख पदम बडूवालले भन्नुभयो ।
बाजुराका वनमा जङ्गलमा पाईने नरपाति,, सिकेपाति र सुनपातिको धुलोमा मिसाएर धुप बनाउन पनि सकिन्छ । यसरी बनेको धुप स्वास्थ्यकर पनि हुन्छ । बाजुराका जङ्गलमा सर्वत्र पाइने बडुले प्रकृतिलाई पनि हानी गर्देन, एक पटक काटे पछि तिन वर्ष मा पुनः प्रयोग गर्न मिल्छ । बाजुरा प्राकृतिक रुपमा भरिपूर्ण छ । जल,जमिन र जङ्गल यहाँका प्रमुख आयस्रोत हुन् । कोरोना कहरले जिल्लाका साना मझौला उद्योग चौपट परेका छन् । बैङ्क तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर व्यवसायी ऋणमा चुर्लुम्म डुबेका छन् ।
प्राकृतिक साधान जङ्गलमा कुहिएको छ यता हजारौँ युवा युवतीहरू स्वदेशमा काम नपाएर दिनहुँ बिदेसिन बाध्य छन् । बाजुराको अपार प्राकृतिक साधान श्रोतलाई व्यवस्थापन गर्न नसक्दा बाजुरेली नागरिकले भने गरिबीकै पहिचान बोक्नु परेको छ। बाजुराको कुल भूमि मध्ये ६८ प्रतिशत भन्दा बढी भूभाग बन क्षेत्र पर्दछ ।
प्रतिक्रिया राख्नुहोस्