मेलम्चीको त्रासदी, भयानक बाढीका दुई वर्ष (फोटो फिचर)
मेलम्ची I मेलम्ची तथा इन्द्रावती नदीमा भयानक बाढी आएको दुई वर्ष पुरा भएको छ ।
२०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा लेदो सहितको बाढी आएको थियो । बाढीका कारण ठुलो जनधनको क्षति भयो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भएका थिए । बाढी गएको दुई वर्ष बितिसके पनि मेलम्चीका बाढी पीडितहरू अझै अस्थायी टहरामै बसिरहेका छन् । मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने अझै आशामा छन् ।












प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्व सूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीहरूको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयको ठम्याई छ । यस्ता प्राकृतिक विपद्को पूर्व सूचनाले ठुलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएको र विपत्बाट जोगिन पूर्व तयारी स्वरूप अहिले मेलम्ची नगरपालिकाका पनि पूर्व सूचना प्रणाली जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताउनुभयो ।






२०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको मात्रै ५सय ५१ घर बाढीले बगाएको थियो । ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सँगै ७ वटा झोलुङ्गे पुल, ९ वटा पक्की पुल र रेडियो मेलम्ची लगायत ३३ वटा सार्वजनिक संरचनाहरू ध्वस्त भएका थिए । हेलम्बुको चनौटेमा बेलि बृज जडान भई सकेको छ भने मेलम्ची नदिमा जडान गर्न कार्य सुरु गरिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।



प्रतिक्रिया राख्नुहोस्