ट्रान्सपोर्ट व्यवसायीद्वारा अनिश्चितकालिन ट्रान्सपोर्ट बन्द गर्ने घोषणा

वीरगंज । पछिल्लो समय ढुवानी सेवामा प्रहरी प्रशासन र राजश्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा अनाहकमा दुःख दिन थालेको भन्दै सोको विरोधमा भोली मङ्गलवार देखि वीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरूले अनिश्चितकालिन ट्रान्सपोर्ट बन्दको घोषणा गरेका छन् ।
सामानको ढुवानीको क्रममा भई रहेको समस्या समाधान तर्फ सम्बन्धित निकाय उदासिन भएको भन्दै आज ट्रान्सपोर्ट एशोसिएशन पर्साको वीरगंजमा सम्पन्न बैठकले समस्या समाधान नहुन्जेल सम्मका लागि वीरगंजबाट हुने खुद्रा तथा फुलट्रीप ढुवानी अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको एशोसिएशनका सचिव नवराज अधिकारीले जानकारी दिनुभयो ।
मुलुकमै ‘ट्रान्सपोर्ट हब’को रुपमा रहेको आर्थिक तथा व्यापारिक वीरगंजमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आबद्ध रहेका छन् । वीरगन्जका दुईवटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएशनमा आबद्ध व्यवसायीहरूले दैनिक एक सय हाराहारीमा ट्रकमा विभिन्न माल सामान लोड गरि मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।

ढुवानी सेवाको क्रममा पछिल्लो समय प्रहरी र राजश्व विभागबाट हुने व्यवहारबाट आफूहरू धेरै मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । उत्पन्न समस्या समाधानका लागि व्यवसायीले गत शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
एशोसिएशनका सचिव नवराज अधिकारीले माल सामानहरू कानुनसम्मत रुपमा ढुवानी गर्दै आएपनि प्रहरीले बिलबिजक नभएको भन्दै सामान बोकेका ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय तथा बीरगंज भन्सारमा बुझाउने गरेको र राजस्व अनुसन्धानमा सामान चेकजाँच गराउँदा १० देखि १५ दिन सम्म लाग्ने र अनाहकमा व्यवसायीलाई झन्झटमा फसाउने काम भई रहेको हुँदा आफू उत्पन्न समस्या समाधानका लागि अनिश्चितकालिन रुपमा ढुवानी व्यवसाय बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्