तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान बुधबार हुँदै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान बुधबारदेखि हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सको जहाज पहिलो पटक बिहान साढे ९ बजे अवतरण गर्ने भएको हो ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति अनुसार सिचुवान एयरलाइन्सले पोखरामा न्यारोबडी ए ३१९ जहाज ल्याउने भएको छ । चिन बाट पोखरामा पहिलो चाटर्ड उडान बुधबार हुने भएपनि नियमित उडानको भने तालिका सार्वजनिक भएको छैन । 

पोखरा–चिन नियमित उडानको विषयमा सिचुवान कम्पनी सँग छलफल भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो ।  सिचुवान एयरलाइन्सको जहाजमा चीनको छेन्दुबाट चिन भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली आउने भएको छ । उक्त जहाजमा उहाँहरू सँगै पोखराको फेवातालमा असार ८ र ९ गते हुन लागेको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरू पनि आउन लागेको गौतमले बताउनुभयो । 

सिचुवान एयरलाइन्सको जहाज बाट १३० जना यात्रु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदै छन् । चिन भ्रमणबारे अध्यक्ष तिमिल्सिनाले पोखरा विमान स्थलमै सञ्चारकर्मीलाई जानकारी गराउने कार्यक्रम समेत तय भएको छ । ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण हुने उक्त जहाज पोखरामा १ घण्टा रोकिने र ११ बजे काठमाडौँ उड्ने गरी कार्यक्रम तय भएको बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०२३ जनवरी १ का दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । यस विमानस्थलमा आन्तरिक उडान बाहेक बाह्य उडान भने हुन सकिरहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button