तपाईँ सुन्दै हुनुहुन्छः

झापाका सामुदायिक वन क्षेत्रमै हात्तीका आहाल र आहाराको व्यवस्थापन

भद्रपुर, झापा । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ ।

जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी–१ स्थित साधुपर्ती सामुदायिक वन हाताभित्र दुई वटा पोखरी निर्माण गरिएको कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले बताउनुभयो ।

रु १० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो । हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्लाकै आठ वटा सामुदायिक वनमा चार हजार बाँस र दुई हजार आठ सय केराको बिरुवा लगाउन थालिएको छ । वन क्षेत्रमा बाँस र केरा लगाउन रु १५ लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । 

आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो । यसबाट मुख्यतः मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ । झापाका सामुदायिक वनमा एक दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button