महोत्तरीमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुँदै

बर्दिबास । महोत्तरीमा दादुरा रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
१५ वटा पालिका रहेको महोत्तरीमा दुई चरणमा खोप अभियान चलाइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
असार ४ गतेदेखि असार ८ गतेसम्म पहिलो चरण र असार ११ गतेदेखि असार १५ गतेसम्म दोस्रो चरण गरी दुई चरणमा दादुरा रुवेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा बर्दिबास नगरपालिका, गौशाला नगरपालिका, सोनमा गाउँपालिका, औरही गाउँपालिका, भंगहा नगरपालिका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ ।
त्यस्तै, दोस्रो चरणमा लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, मनराशिसवा नगरपालिका, एकडारा गाउँपालिका, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा अभियान चलाउने कार्यक्रम रहेको प्रमुख यादवले बताउनुभयो ।
जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आयोजित दादुरा रुबेला खोप अभियान सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरूको बैठक तथा अभिमुखीकरणमा सहभागीहरूले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न चुनौती रहेको बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्