तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् व्यापारका लागि तयारी रहन मन्त्री बस्नेतको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गर्नुभएको छ । उहाँले त्यसका लागि तयारी अवस्थामा रहन आग्रह समेत गर्नुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २१औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उहाँले बिजुली व्यापारमा क्रमशः निजी क्षेत्रलाई अनुमति दिइने बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण एउटा ‘ब्रेक थ्रु’ भएको भन्दै उहाँले हाल परिस्थिति धेरै परिवर्तन भइसकेको स्पष्ट पार्नुभयो । भारतसँग बिजुली बिक्रीका लागि भएको सहमति कार्यान्वयन गरिने उहाँको भनाइ छ ।

हाल बुझाइ र परिस्थितिमा अन्तर रहेको भए पनि आगामी १० वर्षभित्र १० हजार मात्रै होइन १५ देखि २० हजार मेगावाट बराबरको बिजुली बिक्रीका लागि परिस्थिति बन्ने दाबी उहाँले गर्नुभयो ।

उत्पादन बढी भएपछि भारत, बङ्गलादेश लगायतका मुलुकसँग व्यापारको कुरा भए पनि पूर्वाधार निर्माणमा ठूलो लगानीको आवश्यकता रहेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था सुधार गर्ने, सेवा प्रवाह चुस्त बनाउने लगायतका कुरा ध्यानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बिजुलीको खपत बढाउनका लागि शतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरायसी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिँचाइ, यातायात लगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत् आयोजनालाई हकप्रद सेयर जारी गर्न अनुमति दिएपछि पाँच मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्को आयोजना बनाउन सुरु गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो । “हिजो ५० मेगावाट बिजुली किनिदिनुस् भन्ने अवस्था थियो । दुई सय मेगावाट किन्दा पनि दङ्ग पर्थ्यौँ । अहिले त एकै पटक १० हजार मेगावाटको सम्झौता भयो । यो निकै ठूलो उपलब्धि हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button