प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि आजदेखि छलफल सुरु
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि आजदेखि मन्त्रालयगत रुपमा छलफल सुरु भएको छ ।
बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल सुरु भएको हो ।
आजको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भएको छ ।

छलफलमा भाग लिँदै सांसदहरुले वनको अस्तित्वमा संकट पर्दै गएका कारण वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै गएकाले वनलाई प्राकृतिक रूपमै जोगाउने गरी काम गर्नुपर्ने, जनताको इच्छा अनुसारका कार्यक्रम र योजना अगाडि बढाउन सके सफलता प्राप्त हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै सांसदहरुले वन डढेलोको नियन्त्रण र वनको समय सुहाउँदो उपभोग गरी वन क्षेत्र नष्ट नहुने गरी वनबाट लाभ लिने तर्फ सरकार अग्रसर हुनुपर्ने पनि बताउनुभयो ।

यस्तै बैठकमा सांसदहरुले विभिन्न क्षेत्रमा बालसुधार गृहको स्थापना, हरेक पालिका वा सम्भव भए हरेक वार्डमा बाल उद्यानको निर्माणमा जोड दिन सके बालबालिकाको विकासका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
सांसदहरुले ज्येष्ठ नागरिक, एकल तथा विधवा महिला, अपाङ्ग, अशक्तहरूको सशक्तीकरणमा जोड दिनुपर्ने धारणा राख्दै सेमिनार र गोष्ठीमा हुने खर्चहरूको कटौती गर्नुपर्ने बताउनुभयो ।
यस अघि आजको बैठकमा सांसदहरु नारायण प्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी, सूर्य प्रसाद ढकाल र गोकुल प्रसाद बाँस्कोटाले खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो ।

त्यसअघि बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले इपिजी प्रतिवेदनबारे सरकारको दृष्टिकोण संसद्लाई प्रष्ट पार्नुपर्ने, नेपालको परराष्ट्र नीति र भारतको संसद् भवनमा राखेको नक्साबारे नेपाल सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
सांसद्हरुले भारतको संसद् भवनमा राखेको नक्साबारे नेपाल सरकारले विरोध जनाउँदै भारतलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्ने, पशुपतिनाथ मन्दिरको सम्पत्ति अपचलन गरिएको, नागरिकतासम्बन्धी समस्या चाँडो समाधान हुनुपर्ने, प्रहरी प्रशासनले खसी माग्दा नदिएको निहुँमा किसानमाथि प्रहरीबाटै अन्याय भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभाको बैठकमा आगामी असार १२ गतेसम्म बजेट माथिको मन्त्रालयगत र सचिवालयगत रुपमा छलफल हुनेछ ।
प्रतिनिधि सभाको अर्को बैठक भोलि असार १ गते शुक्रबार बिहान ११ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्