तपाईँ सुन्दै हुनुहुन्छः

वालिङमा लम्की स्किनबाट बचाउन गाई भैँसीलाई भ्याक्सिन लगाइँदै

स्याङ्जा । वालिङमा पशुमा लाग्ने रोग लम्पी स्किन देखिएपछि रोग विरुद्ध भ्याक्सिन लगाइएको छ । 

देशका विभिन्न जिल्लाहरूमा फैलिएको लम्पी स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ । 

गाई गोरु तथा भैँसीहरूका लागी लम्पी स्किन रोग विरुद्ध लम्पी शील्ड एन भ्याक्सिन लगाइएको छ । वालिङमा पहिलो पटक सुकौँदीमा रहेको गौशालाका गाईहरूमा लम्की स्किन देखिएको थियो । 

गौशालामा रहेका करिब १५ गाईहरूमा लम्पी स्किनको लक्षण देखिएपछि १० वटा गाईहरूको नमुना परीक्षणका लागी क्षेत्रिय पशु तथा अनुसन्धान पोखरामा पठाइएको थियो । अनुसन्धानले गौशालाका चार गाईहरूमा लम्पी स्किन पुष्टि गरेपछि यस विषयमा कृषकहरूलाई जनचेतना जगाउने र स्वस्थ पशुहरूमा भ्याक्सिन लगाउने कार्य गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख लेखनाथ अर्यालले बताउनुभयो । 

अहिले गौशालामा लम्पी स्किन देखिएका गाईहरू निको भएका छन् । 

त्यस्तै वडा नं. ९, १२, १४ र ५ मा समेत लम्की स्किन देखिएपछि नगरपालिका पशु शाखाले विभिन्न सञ्चार माध्यमबाट जनचेतना जगाउने तथा विभिन्न तालिमका अवसरहरूमा यससम्बन्धी कृषकहरूलाई सचेत गराउने गरिएको प्रमुख अर्यालले बताउनुभयो । नगरपालिकाले २५ सय डोज भ्याक्सिन किनेर अहिले धमाधम पशुहरूमा खोप लगाउने कार्य गरिएको उहाँको भनाई छ । 

लम्पी स्किनबाट बच्न भ्याक्सिन मात्रै एक विकल्प हो । सुरुमा नगरपालिकाका १४ वटै वडामा पुगेर व्यावसायिक फर्महरूमा खोप लगाइएको उहाँले बताउनुभयो । यो भ्याक्सिन रोगको लक्षण देखिएका गाई गोरुमा भने लगाउनु हुँदैन । अव वडा नं. ८ का केही फर्म र १ को केही फर्महरू बाँकी रहेको भन्दै अन्य व्यावसायिक फर्महरूमा रहेका गाई गोरु तथा भैँसीलाई खोप लगाइएको छ । 

यो रोग लागेमा पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलिने, दूध दिन छाड्ने र अन्तमा पशुको मृत्यु समेत हुन सक्छ । पशुहरूमा यस्ता लक्षण देखिएमा उक्त पशुलाई अलग राख्ने, मान्छेको आवतजावत रोक्ने र तुरुन्त वडा कार्यालय, नगरपालिका तथा पशु शाखा कार्यालय वा सम्बन्धित निकायलाई खबर गर्नुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button