‘एन्टीबायोटिकको अनुचित प्रयोग मृत्युको कारक’
चितवन । पछिल्लो समय विश्वभर प्रयोग हुँदै आएको एण्टीबायोटिकको प्रयोगले मानवजगतमा समस्या थपिँदै गएको छ ।
कुनै रोगको उपचार तथा निदानका लागि मानिसहरूले एन्टीबायोटिकको प्रयोग गर्दा मानव स्वास्थ्य थप खतरा बढ्दै गएको हो ।
विज्ञहरूले गरेको अध्ययन अनुसन्धान अनुसार एण्टीबायोटिक अनुचित र नियमित प्रयोगले मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ ।
भरतपुरमा शुक्रबार स्वास्थ्य मन्त्रालयको आयोजना तथा युसेडको आर्थिक सहयोगमा एण्टि माईक्रोवियल रेसिस्टेण्ट विषयक कार्यक्रममा विज्ञ तथा जानकारहरूले एण्टीबायोटिकले मानव स्वास्थ्य गम्भीर समस्या थपिएको बताउनुभएकाे हाे।
युसेडका फोकल पर्सन डा. सन्तोष दुलालले एण्टीबायोटिक को प्रयोग कोभिडभन्दा बढी महामारीको रुपमा फैलिएको बताउनुभयो । प्रस्तुतीकरण दिँदै डा.दुलालले यो महामारी विश्वका विकासोन्मुख र गरिब देशमा बढी भएको बताउनुभयाे।
२०२२ मा गरिएको एक अध्ययन अनुसार विश्वमा एण्टीबायोटिक प्रयोगले ५० देखि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये एशियाली देशहरूमा मात्रै एकबर्षमा ४७ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । यसको प्रयोगलाई रोक्न नसके सन् २०५० सम्ममा एण्टीबायोटिकको प्रयोग बर्षेनी १ करोड मानिसको मृत्यु हुने प्रक्षेपण गरिएको अनुसन्धानले देखाएको छ ।
अधिकांश चिकित्सकले रोग चाँडै निको बनाउने र बिरामीलाई सहज बनाउने हेतुले अनुचित रुपमा एण्टीबायोटिकको प्रयोग गर्दा मानव शरीरले पछि बिरामी पर्दा उक्त एण्टीबायोटिकको मात्राले काम नगर्ने र मात्रा बढाउँदै लैजाँदा बिरामी थप गम्भीर बन्दै जानेछ ।
मानिसमा लाग्ने ७५ प्रतिशत रोग पशुपक्षीबाट सर्ने भएकोले र जनावरको मासु मानिसले प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरेको गुणस्तर महाशाखाका प्राविधिक राजकुमार पाण्डेले बताउनुभयो ।
‘पशुपक्षीमा समेत एण्टीबायोटिकको प्रयोग अत्यधिक छ, यसको मासु खाँदा एकातिर रोगको जोखिम त छदैछ अर्को कुरा एण्टीबायोटिकले काम समेत नगर्ने भएको छ ।’ उहाँले भन्नुभयो । अनुसन्धान अनुसार एण्टीबायोटीकको प्रयोगले २०३० सम्ममा विश्वमा २ करोड ४० लाख मानिस गरिबीको रेखामुनि धकेलिने छ । विश्वमा सय खर्ब अमेरिकी डलरको भार पर्ने र ३ दशमलब ८ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने अनुसन्धानले देखाएको छ ।
सो अवसरमा प्रस्तुति दिँदै डा. विवेका श्रेष्ठले पछिल्लो समय गर्भवती महिलालाई इन्जेक्सनको माध्यमबाट सबैभन्दा बढी एण्टीबायोटिक दिइने गरेको बताउनुभयो । उहाँले जनावरको मासुमा भन्दा बढी दूधको प्रयोगले मानिसमा रोग सर्ने समस्या आएको बताउनुभयो । यसको रोकथामको लागि खाद्य र मासुको प्रयोगको लागि एण्टीबायोटिक विरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
युसेडका सहजकर्ता अर्जुन अधिकारीले रोगबाट मर्नेभन्दा एण्टीबायोटिक अनुचित प्रयोगले मर्नेको सङ्ख्या भयावह हुँदै गएको बताउनुभयो । विश्वमा सन् १९८७ बाट नयाँ एण्टीबायोटिकको आविष्कार कम हुँदै गएपनि यसको प्रयोग अत्यधिक भएको कारण मानिसको मृत्युमा भने कमी नआएको उहाँको भनाई थियो । ‘नेपालमा यसको अनुचित प्रयोग कति हुन्छ भन्ने तथ्याङ्क त छैन । अधिकारीले भन्नुभयो, विश्वमा ५० प्रतिशत एण्टीबायोटिक जथाभाबी प्रयोग हुँदै आएको छ ।’
यसको रोकथामको लागि सरकारको नीति, कानुन कार्यान्वयन पक्ष बलियो बनाउनु पर्ने सुझाव दिँदै जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्