बैजनाथमा विशेषज्ञ सहितको शिविर सञ्चालन
बाँके । बैजनाथ गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा गाउँपालिका स्वास्थ्य शाखाले १५ दिने शिविर सञ्चालन गरेको हो ।

शिविरको आज एक कार्यक्रमबिच टिटिहिरिया स्वास्थ्य चौकीमा गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले उद्घाटन गर्नुभयो । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट दिन नसक्ने सेवाहरू शिविरबाट दिइने र ८ वटै वडामा शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीका अनुसार शिविरमा छालासम्बन्धी रोग तथा नसर्ने रोगहरू मधुमेह, थाइराइड, उच्च रक्तचापको उपचार गरिएको छ । शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीलाई निःशुल्क रुपमा औषधी समेत उपलब्ध गराइएको थियो ।

शिविरमा मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका जनसम्पर्क प्रमुख यमबहादुर खड्काको नेतृत्वमा फिजिसियन डा सुरज चौधरी, छाला रोग विशेषज्ञ द्वय एलिसा अर्याल र डा कमलजंग शाही, डा सत्यप्रकाश वर्मा, ल्याब टेक्निसियनसहित ६ जनाको टोली परिचालन भएको छ ।
शिविर जेठ २८ गते पनि बैजनाथ ४ को आधारभूत स्वास्थ्य सेवा केन्द्र नौलापुरमा हुनेछ । उक्त ठाउँमा छाला रोग तथा पाठेघर सँग सम्बन्धी समस्याको शिविर सञ्चालन हुनेछ । यस्तै जेठ ३० गते वडा नम्बर ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पेडारी, जेठ ३२ गते वडा नम्बर ३ को नौवस्ता स्वास्थ्य केन्द्र, असार ३ गते वडा नम्बर १ को चिसापानी स्वास्थ्य चौकी, असार ५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र डिगिया, असार ७ गते वडा नम्बर ५ को प्राथमिक स्वास्थ्य सेवा केन्द्र बनकटवा र असार १० गते वडा नम्बर ६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र गडरहीमा शिविर गरिने शाहीले जानकारी दिनुभयो ।
गाउँपालिका र अस्पतालबिच भएको सम्झौता अनुसार शिविरबाट रेफर भएका बिरामीलाई अप्रेसनमा २५ प्रतिशत, ल्याब परिक्षणमा ५० प्रतिशत र भर्नामा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको जनसम्पर्क प्रमुख खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्