प्रतिनिधिसभाको बैठक भोलिका लागि सर्यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका दलहरूको विरोधका कारण अवरूद्ध भएको प्रतिनिधिसभाको आजको बैठक भोलिका लागि सरेको छ ।
विपक्षी दलहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलिका लागि सरेको हो ।
संसद् सचिवालयले सूचना टाँस गरेर अर्को बैठक भोलि बिहान ११ः००बजे बस्ने जानकारी दिएको छ ।
यसअघि, प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध जनाउनुभएको थियो ।
विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।
बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको जनाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले जेठ १५ गते संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८० ÷२०८१ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्