तपाईँ सुन्दै हुनुहुन्छः

स्पोट्र्स म्युजियम बनाउँछौँ : सदस्य सचिव घिसिङ

पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद क्षेत्रको विषय बस्तुहरूको सङ्ग्रह गरी स्पोट्र्स म्युजियम बनाउने बताउनुभएको छ । 

नेपाल ओलम्पियन सङ्घको आयोजनामा आज पोखरामा भएको साधारण सभामा सदस्य सचिव घिसिङले थ्रियटर हल सहितको ओलम्पियनहरुको बायोडाटासहित र उनीहरूको भिडियो समेत सङ्ग्रह गरी इतिहासको दस्ताबेजको रुपमा सङ्ग्रह गर्ने उहाँले बताउनुभयो । 

उहाँले ओलम्पिकसम्मको यात्रासम्म के कस्तो सङ्घर्ष गर्नु पर्‍यो सबै वृत्तान्त म्युजिक भिडियोमा समेत उल्लेख गरिने बताउनुभयो । नयाँ पुस्तालाई खेलकुदको बारेमा बुझाउन र खेल क्षेत्रको महत्त्व बुझाउन पनि स्पोटेर्स म्युजियमले धेरै सहज हुने उहाँले बताउनुभयो । 

१८ औँ ओलम्पियनमा नेपालको यात्रादेखि हालसम्मको अवस्थाबारे मोबाइल एप्स तथा वेवसाइडमा सम्पूर्ण विवरण सङ्ग्रह गर्ने तयारी भएको सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । 

समय सापेक्ष पुस्तक प्रकाशन गर्नुभन्दा अनलाइनमा विश्वका जुनसुकै मुलुकबाट हेर्न सक्ने गरी खेलाडीहरूको सम्पूर्ण विवरण राखिने उहाँले जानकारी दिनुभयो । खेलकुदको इतिहास कुन खेल कसरी कसले खेल्यो लगायतका विवरणहरू सङ्ग्रह गर्नुपर्ने उल्लेख गर्नुहुँदै सदस्य सचिव घिसिङले राज्यको तर्फबाट अझै पनि पर्याप्त मात्रमा खेलकुद क्षेत्रमा लगानी हुन नसकेको बताउनुभयो ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बाजे पुस्तादेखि नातिसम्मका खेलाडीहरू एउटै फोरममा भेला भएर छलफल गर्दा नेपाली खेलकुद क्षेत्रको महत्त्व र यसको गरिमा झन बढेको बताउनुभयो । 

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले खेलाडीले नेपाली खेलकुद क्षेत्र र ओलम्पियनहरुको शिर नझुक्ने गरी सधैँ शिर उँचो पार्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले पोखरामा उक्त कार्यक्रम आयोजना हुनुले नेपाली ओलम्पियनहरुको एक आपसमा परिचयसँगै अन्य क्षेत्रका व्यक्तिहरूसँग समेत यसको महत्त्व बढेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button