तपाईँ सुन्दै हुनुहुन्छः

सरावल गाउँपालिकाले अतिक्रमित घरटहरा भत्कायो 

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अस्पताल बनाउने जग्गामा व्यक्तिले अतिक्रमण गरी बनाइएका घरटहरा हटाएको छ ।

गाउँपालिकाले वडा नम्बर ५ धनगडवामा  १५ शय्याको अस्पताल निर्माण गरिने भएको हुँदा उक्त संरचना हटाइएको गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको बैठकले अस्पतालका लागि छुटाएको २ बिगाहा १८ कठ्ठा जग्गामा तीन जना स्थानीयले अतिक्रमण गरी घर बनाएका थिए। 

गाउँपालिकाले व्यक्तिले अतिक्रमण गरेर बनाएको घर डोजर लगाएर भत्काइदिएको हो।

गाउँपालिकाले पटक पटक सूचना निकालेर सम्बन्धित व्यक्तिलाई खाली गराउन ताकेता गरेपनि अटेर गरेपछि प्रहरी प्रशासनको सहयोगमा  डोजर लगाएर घर भत्काइएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भयो। 

तीन जनामध्ये एक जनाले भने पालिकाको आग्रहअनुसार आफै जग्गा खाली गरेको र अटेर गर्ने दुई जनाकाे ३र भने डाेजर लगाएर भत्काइएकाे अध्यक्ष सुखाडीले जानकारी दिनुभयाे ।

स्थानीय नरेश कहार र बैजनाथ कहारले अटेरी गरेपछि डोजर लगाएर जग्गा खाली गराएकाे हाे । तीन जनामध्ये २ जनाले ६ कठ्ठा जग्गा अतिक्रमण गरेका थिए। 

अघिल्लो वर्ष अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर अस्पताल निर्माण गर्ने ठाउँका विषयमा राजनीतिक विवाद भएपछि उक्त रकम फ्रिज भएर गएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताउनुभयाे।

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्नुपर्ने नीतिअनुसार पालिकामा अस्पताल निर्माण हुन लागेको पौडेलले बताउनुभयाे। अस्पताल निर्माणका लागि गाउँपालिकाले जग्गाको सुनिश्चितसहित १५ करोडको डीपीआर तयार पारेर स्वास्थ्य मन्त्रालयमा पठाएको पौडेलले बताउनु भयो । 

जग्गा संरक्षणका लागि गाउँपालिकाले अहिले ८ लाख खर्चेर उक्त स्थानमा तारबार गरि जग्गा संरक्षण गरेको छ। मन्त्रालयबाट रकम आउन ढिला भएपनि पालिकाले आउँदो आर्थिक वर्षमा केही रकम छुट्टाएर अस्पतालको जग र पिलर राख्ने लगायतका काम अघि बढाउने पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button