जनताले महसुस गर्ने गरी काम गर्नुस् : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनगुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७९/८०को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री शर्माले जनतामा अझै पनि गुणस्तरीय दूरसञ्चार सेवा नपुगेको भन्नुहुँदै गुनासोको तत्काल सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री शर्माले तथ्याङ्कमा मात्र प्रगति देखिने नभई जनताले महसुस गर्ने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभयो ।
मन्त्री शर्माले तोकिएका लक्ष्य प्राप्ति हुन नसक्नुका कारण पहिल्याउँदै समाधानका लागि निरन्तर प्रयत्न जारी राख्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले १५ औँ योजनाका सूचक कार्यान्वयन गर्न अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयको आवश्यकता औँल्याउनुभयो ।
डा. राउतले मन्त्रालयको चालु खर्च भन्दा पुँजीगत खर्च कम देखिएको भन्नुहुँदै खर्च बढोत्तरी गर्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मुद्दा मामिला र खरिद ऐनका कारण कतिपय कार्यालयले पुँजीगत खर्च बढाउन नसेकेको भन्नुहुँदै समस्या समाधानका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सचिव राउतले बैठकबाट प्राप्त निर्देशन र सुझावहरूलाई दृढताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्