तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताउनुभएको छ । 

उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्ष पीडितलाई विश्वास समेत दिलाउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनः स्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिनुभएको छ । 

प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाउनुभएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का नेता ओमविक्रम भाटले जानकारी दिनुभयो । 

सो अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता र आरक्षपीडितको सहभागिता थियो । “प्रधानमन्त्रीले समस्या समाधानका लागि चासो लिनुभएको छ । आरक्ष प्रभावितको माग सम्बोधन हुने आशा छ”, प्रदेशसभा सदस्य भाटले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button