तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा राष्ट्रिय परिचयपत्र विवरण संकलनकार्य अन्तिम चरणमा

बिराटनगर ।  नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलनगर्ने कार्य मोरङ जिल्लमा अन्तिम चरणमा पुगेको छ ।   जिल्ला प्रशासन कार्यालय मोरङले २०७८ साल असोज महिनादेखि शुरु गरेको विवरण सङ्कलन कार्य  १७ वटा पालिकामध्ये १६ वटा पालिकामा सम्पन्न भइसकेको छ । अहिले विराटनगर महानगरपालिकामा यो अभियान सञ्चालनमा छ । 

सङ्कलन टोलीले पालिकाका प्रत्येक वडा वडामा   पुगेर विवरण सङ्कलन गर्दै  आएका छन् । 

राष्ट्रिय परिचयपत्रका लागि अहिले सम्म  ६ लाख १८ हजार ५ सय ५२ विवरण सङ्कलन भएको र  विराटनगर महानगरपालिका १९ वटै वर्डामा  विवरण सङ्कलन  कार्य भइरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।

वडा वडामा विवरण संकलनगर्न थालिएपछि आफूहरूलाई निकै सहज भएको स्थानीयको भनाई छ ।  विराटनगर–७ कि सावित्री ढकालले घरदैलोमा आएर विवरण संकलनगर्न थालेपछि परिचयपत्र बनाउन सजिलो भएको बताउनुभयो ।   विराटनगर–९ का हरि प्रसाईँ आधा घन्टमा परिचयपत्र बन्ने गरेको र टोलीमा खटिएका कर्मचारीले परिचयपत्र फर्म समेत भरिदिँदा सबैलाई सहज भएको बताउनुभयो । 

राष्ट्रिय परिचयपत्र बनाउनका लागि नेपाली नागरिकता आवश्यक हुन्छ । नेपाली नागरिकको  जैविक र व्यक्तिगत विवरण सङ्कलन गरिन्छ । 

अभियानका फोकल पर्सनसमेत रहनु भएका  सहायक प्रमुख जिल्ला अधिकारी  पोखरेलले   राष्ट्रिय परिचयपत्रमा नेपाल सरकारले प्रदान गर्ने १८ प्रकारका सेवा आबद्ध हुने भएकाले सबैलाई परिचयपत्र बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार, पहिलो चरणमा राहदानी बनाउन परिचयपत्र आवश्यक भएपनि नेपाल सरकारले दिने सबै सेवा क्रमशः यसमा समावेश हुँदै जाने भएकाले परिचयपत्र बनाउन कोइपनि छुट्नु हुँदैन ।  

अभियानमा छुटेकाहरूले जिल्ला प्रशासन कार्यालय तथा रंगेली र उर्लाबारी स्थित  इलाका प्रशासन कार्यालयमा विवरण संकलनगर्ने व्यवस्था मिलाइएको छ । अभियानमा छुटेकालाई परिचय पत्र बनाउन कार्यालय समयमा  बनाउन सक्नेगरी व्यवस्था गरिएको छ ।  

यसै बीच जिल्ला प्रशासन कार्यालयले  ३५ सय थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।  त्यस्तै केही हप्तामा मोरङमा ६० हजार थान परिचय पत्र आउने तयारीमा रहेका जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button