सांसद गौतमको जीवन रक्षा गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनसनमा बसेका प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको माग वार्ताबाट समाधान गरी निजको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगन्जले अनशनको स्थलगत अनुगमन गर्दा निजको स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले वार्ताबाट समस्याको समाधान गरी जीवन रक्षामा ध्यान दिन आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “सांसद गौतमले उठाएका उचित मागको सार्थक वार्ता र संवादको माध्यमबाट सम्बोधन गरी आम नागरिकको विकासको अधिकारको सुनिश्चितता गर्न र अनशनरत गौतमको स्वास्थ्यप्रति संवेदनशील भई निजको जीवनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”
आयोगले सांसद गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको, उच्च रक्तचापको बिरामी भएको हुँदा जुनसुकै समयमा गम्भीर समस्या निम्तिन सक्ने अवस्था रहेको, अनशनको सातौँ दिनसम्म पनि सरकारी निकायबाट अनशन तोड्न कुनै पहल नभएको र अनशन स्थल सडक एवं स्वास्थ्य सुविधाबाट टाढा रहेकाले आकस्मिक समस्या सिर्जना भइहालेमा जीवन नै जोखिममा पर्न सक्ने अवस्था रहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्