चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण

सुर्खेत । गाउँलेलाई चट्याङबाट जोगाउन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६, मेहलीको ल्याडामा अर्थिङ टावर निर्माण गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका, वातावरण सुधार समाज, अन्तरनिर्भर समाज र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा सञ्चालित उत्थानशील नगरका लागि सामूहिक पहल परियोजनासँगै स्थानीय नागरिकको श्रमदानमा चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण गरिएको हो ।

वीरेन्द्रनगरका मेहली, पारेगाउँ, रतु, गर्पन गाउँहरू चट्याङको उच्च जोखिम रहेकाले जनधनको सुरक्षा गर्न अर्थिङ टावर राखेर सुरक्षित बनाइएको नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतका सभापति रामलाल आचार्यले बताउनुभयो ।
उहाँले वीरेन्द्रनगर नगरपालिकाका–१५ र १६ नम्बर वडामा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको जनाउनुभयो ।
‘वीरेन्द्रनगरको लेकाली क्षेत्र चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न विभिन्न सङ्घसंस्थाको सहयोगमा अर्थिङ टावर निर्माण गरिएको अर्थिङ टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष बालाराम पौडेलले बताउनुभयो । उहाँले मेहलीको ल्याडाको डाँडोमा तीस फिट अग्लो फलामे पाइपमा तामाको ‘एन्टिना’ राखेर भुईँमा चार फिट गाडेर उक्त टावर निर्माण गरिएको जनाउनुभयो ।
उहाँका अनुसार उक्त एन्टिनाबाट तामाको तार लगेर नुन र कोइलासँगै गाडिएको तामाको पातामा जोडेर अर्थिङ गरिएको छ । उत्थानशील नगरका लागि सामूहिक पहल परियोजनाका जिल्ला परियोजना अधिकृत मायाकुमारी सापकोटाले मेहली र पारेगाउँमा अर्थिङ टावरको काम सबै स्थानीय प्राविधिकहरूले गरेको बताउनुभयो ।

अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पुर्याएर नष्ट गरिदिने भएकाले गाउँमा अर्थिङ टावर राखिएको उहाँको भनाइ छ ।
टावर निर्माण गरेसँगै यतिबेला ल्याडा गाउँका ६५ घरका तीन सयभन्दा बढी स्थानीयसहित भौतिक संरचना र पशुपक्षी चट्याङबाट सुरक्षित बन्ने विश्वास राखिएको छ ।
अर्थिङ टावर निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–१५ नम्बर वडाको ५० हजार, पहल परियोजनाको ५० हजार र ६० हजार बराबरको श्रमदान उपभोक्ता समितिले गरेको छ ।
अर्थिङ टावर निर्माणले चट्याङबाट हुन सक्ने क्षतिबाट केही सुरक्षित महसुस गरेको वीनपा–१६, का वडा सदस्य हेमराज ढकालले विश्वास व्यक्त गर्नु भयो । प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरिएको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले बताउनुभयो ।
उहाँले कर्णालीमा चट्याङको अवस्थाको अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेकाले विपद् रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

के हो चट्याङ, कसरी जोगिने ?
चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो ।
आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चैँ चट्याङ हो ।
चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय ताप शक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरूमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने विज्ञहरू बताउँछन् ।
प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाय भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।
सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, बिजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुँदैन । बिजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।








प्रतिक्रिया राख्नुहोस्