‘आयुर्वेदको अध्ययन, अनुसन्धान, अभ्यास र माग बढिरहेको छ’
काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा आयुर्वेदको अध्ययन, अनुसन्धान, अभ्यास र माग दिनानुदिन बढ्दै गइरहेको बताउनुभएको छ ।
आयुर्वेद एचिभमेन्ट अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक राष्ट्रपति यादवले स्वदेशमा आयुर्वेद क्षेत्रको विकास अपेक्षाकृत रुपमा हुन नसकेको र ठूलो सङ्ख्यामा उत्साहित र उत्प्रेरित युवा पुस्ताको आयुर्वेद क्षेत्रमा भविष्य उज्ज्वल भएकोमा आफू ढुक्क भएको बताउनुभयो ।
कावा राष्ट्रपति यादवले तीन सय ५० वर्ष पुरानो लामो इतिहास भएको सिंहदरबार वैद्यखाना, एक सय ६ वर्ष पुरानो नरदेवीको आयुर्वेद चिकित्सालयको विरासत भएको स्मरण गराउनुहुँदै उहाँले आयुर्वेद चिकित्सा पद्धति मात्र नभई जीवन दर्शन र विज्ञान भएकोले आयुर्वेदमा उल्लेखित दिनचर्या, रात्रिकालीन दिनचर्या, अचार रसायन विषयहरू दैनिकीको अभिन्न अङ्ग बन्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा सर्ने रोगहरू बढ्दै गएकोले आधुनिक चिकित्सा महँगो र सबैको पहुँचमा नरहेकोले रोगको रोकथामका लागि आयुर्वेदमा उल्लेखित स्वास्थ्य जीवनशैलीका कुराहरू समुदाय स्तरमा लैजानुपर्ने जरुरी रहेको उहाँले बताउनुभयो ।
अझै पनि सरकारी स्तरमा आयुर्वेद स्वास्थ्य संस्थाहरू मुलुकका सबै पालिकाहरूमा नपुगेको र सीमित जनशक्ति, श्रोत साधनको अधिकतम सदुपयोग गरी नागरिकको स्वास्थ्य रक्षा र आयुर्वेदप्रतिको नागरिकको अपेक्षा पूरा गर्न स्वास्थ्यकर्मीहरुले अहम् भूमिका रहेकोप्रति उहाँले उच्च प्रशंसा समेत गर्नुभयो ।
मुलुकमा मेडिकल टुरिजमको सम्भावना उच्च रहेकोले आयुर्वेदको समयानुकूल स्वास्थ्य नीति, कार्यक्रम तर्जुमा र बजेट विनियोजनमा आयुर्वेदलाई प्राथमिकतामा राख्ने, विशेषज्ञ आयुर्वेद सेवा प्रदान गर्ने, आधुनिक अस्पतालहरू प्रदेश स्तरमा स्थापना गर्न, स्वास्थ्य बिमामा आयुर्वेद सेवालाई समावेश गर्न, आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको वृद्धि विकास र अवसर सिर्जना गर्न तथा शिक्षण संस्थाहरूको अध्ययन अध्यापनलाई वैज्ञानिक तथा अनुसन्धानमूलक बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्