तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु : मन्त्री राई

ललितपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने बताउनुभएको छ ।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)को सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले शिक्षा क्षेत्र सम्मानित र राष्ट्रनिर्माताहरू तयार पार्ने क्षेत्र भएकाले यसको सुधारका लागि ध्यान दिएर लाग्ने बताउनुभयो ।

उहाँले शिक्षक र शिक्षा क्षेत्रका विषयमा सरकार र शिक्षकबिच भएका सम्झौता झुलाउनका लागि नभएर समस्या समाधानका लागि नै भएको बताउँदै विभिन्न समस्याका कारण ती कार्यान्वयन हुन ढिलो भएको औँल्याउनुभयो ।

मन्त्री राईले राज्यप्रति धेरै वितृष्णा र विद्रोह भाव नराख्न र राज्यलाई सधैँ अविवेकी रूपमा नबुझिदिन आग्रह गर्नुभयो । उहाँले विवेकसहितको राज्य हुनुपर्छ भन्दै आफूहरू इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न लागिपरेको बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षा ऐन संसद्मा प्राथमिकता दिएर पास गराउन लागिपर्ने बताउनुभयो ।

पूर्व शिक्षा मन्त्री देवेन्द्रराज पौडेलले राष्ट्र निर्माणका लागि योग्य जनशक्ति निर्माण गर्ने अभिभार शिक्षकहरूमा भएको बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शिक्षकका समस्या कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताउनुभयो । उहाँले विद्यालय तहको आधार इसिडी भएको बताउँदै दरबन्दीलाई सपोर्ट गर्दै इसिडीलाई व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । दरबन्दी सिर्जना गर्न सकिएन भने गुणस्तरीय शिक्षा दिन सकिँदैन भन्दै अध्यक्ष शर्माले परीक्षा व्यवस्थापन र स्तरीकृत गर्न शिक्षकहरूलाई तालिम दिन आवश्यक भएको र शिक्षण सिकाइलाई प्राथमिकता राखेर अगाडि बढ्दै परीक्षा प्रणालीमा राष्ट्रिय फ्रेमवर्क तयार गर्ने बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीले राज्यका मन्त्री र सचिवले गरेका सम्झौता कार्यान्वयन नहुनु दुःखद् भएको बताउँदै यस वर्ष आन्दोलन गरेर भए पनि सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई बाध्य पार्ने बताउनुभयो ।

हिस्टुनको सातौँ राष्ट्रिय महाधिवेशन भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button