तपाईँ सुन्दै हुनुहुन्छः

जनताको भावनाअनुसार अगाडि बढ्न जरुरी : अध्यक्ष नेपाल

जनकपुरधाम ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनको मत परिणामले मुख्य राजनीतिक दलको कार्यदिशा तथा विचारमा परिमार्जन गर्ने सन्देश दिएको बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मुख्य राजनीतिक दलले आफू भित्रको कमीकमजोरीलाई सच्याएर जनताको भावनाअनुसार अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले उपनिर्वाचनको बारामा प्राप्त भएको मत परिणामले गठबन्धनको औचित्यलाई पुष्टि गरेको उल्लेख गर्नुहुँदै गठबन्धनलाई पनि जनताको भावना अनुसार अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।

उहाँले मुख्य राजनीतिक दलहरूले अहिलेको अवस्थाको आत्म समीक्षा गर्दै मुलुकमा सुशासन, पारदर्शिता, सामूहिकता, जनतालाई सहज सेवा, जनताको पिर मार्काको सम्बोधन, राजनीतिमा भएको विकृतिको अन्त्य गर्न आवश्यक भएको बताउनुभयो । 

अध्यक्ष नेपालले राजनीतिमा गुण्डातन्त्र हाबी भएको उल्लेख गर्नुहुँदै अहिले राजनीतिक दलका नेताहरूमाथि गम्भीर प्रश्न उठेको बताउनुभयो । उहाँले वडा तहदेखि केन्द्रीय तहसम्ममा भएका पदाधिकारीहरूमाथि जनताबाट गम्भीर प्रश्न उठेको उल्लेख गर्नुहुँदै सरकारी साधन श्रोतको दुरुपयोग भएको जनताको बुझाइलाई चिर्न आवश्यक भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button