तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी उपमहानगरपालिकाद्वारा घर नक्सा बनाउन विद्युतीय प्रणाली सुरु

सुनसरी । इटहरी उपमहानगरपालिकाले घर नक्सा बनाउन विद्युतीय प्रणाली सुरु गरेको छ ।

इटहरीका मेयर हेम कर्ण पौडेल तथा उपमेयर सङ्गीता चौधरीले ब्यानर पढेर सेवा सुरु गर्नुभएको हो ।

उपमहानगरले ‘पेपरलेस’ अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) कार्यान्वयनमा ल्याएको हो ।

छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरू सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।

यो प्रणालीअनुसार घर नक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इन्जिनियर कैलाश तिम्सिनाले बताउनुभयो । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बहाना बाजीलाई निरुत्साहित गराउने उपमहानगरपालिकाको विश्वास छ ।

यो सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन् । त्यसपछि प्रक्रिया पूरा गरी नगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।

सबै कागजपत्र पुगेका मितिले २० दिन भित्रमा नक्सा पास हुने इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button