तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु  जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११÷११ रन बनाए ।

बलिङतर्फ कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन÷तीन विकेट लिए । यस्तै गयान मुनवाराले दुई विकेट लिए ।  नेपालले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित तथा एउटामा अङ्क बाँडेको थियो । नेपाल हालसम्म पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । 

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो । 

आजको खेलमा जित हासिल गरे नेपाल समूह ‘ए’ को विजेता बन्ने छ । कतार हालसम्म खेलेका तीन वटै खेलमा जित विहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button