तपाईँ सुन्दै हुनुहुन्छः

सीमा क्षेत्रमा भारतको हेपाहा प्रवृत्ति रोकिनु पर्छ : ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा क्षेत्रमा देखिएकाे भारतको हेपाहा प्रवृत्ति रोकिनु पर्ने बताउनु भएको छ ।

देशकाको पूर्वी सीमा इलामको  पशुपतिनगरमा नेपाल भारत सीमाको दशगजा क्षेत्र निरीक्षण  गर्ने क्रममा अध्यक्ष ओलीले सीमा क्षेत्रमा सीमा मिच्ने अरू हेपाहा प्रवृत्ति तुरुन्त रोक्नु पर्नेमा जोड दिनु भएको हो । ओलीले  सीमामा बसोबास गर्ने जनतालाई  पेलेर भारतले केही नपाउने भन्दै  यस्ता क्रियाकलाप रोक्नु पर्नेमा जोड दिनु भयो 

एमाले अध्यक्ष ओली समक्ष स्थानीयवासीले भने आफ्नै जग्गामा घर बनाउँद समेत भारतले हस्तक्षेप गर्ने गरेको र भारतले सीमा मिचेर प्रहरी बिट सञ्चालन गरेको  गुनासो गरे । 

सो क्रममा ओलीले भारत जस्तो छिमेकी मित्र राष्ट्रले यसरी सीमा क्षेत्रमा बस्ने नेपाली माथि अन्याय गर्नु, सीमा मिचेर भौतिक संरचना बनाउन नसुहाउने भन्दै यस्ता क्रियाकलाप तुरुन्त सच्याउनु पर्नेमा जोड दिनु भयो ।

सीमा क्षेत्रमा हुने यस्ता कार्य रोक्न तत्काल भारतसँग छलफल गर्न सरकारले कूटनीतिक पहल गर्नु पर्ने ओलीको भनाई छ । अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा पनि पटक पटक छलफल गरेको स्मरण गर्दै गभिंरताका साथ यसबारेमा भारत सरकारसँग छलफल गर्न सरकारलाई आग्रह गर्नु भयो । 

एमाले अध्यक्ष ओली बिहीबार नेकपा एमाले इलामको जिल्ला अधिवेशनमा भाग लिन इलाम आईपुग्नु भएको हो । सो क्रममा एमाले उपाध्यक्ष इलाम क्षेत्र न २ बाट निर्वाचित सांसद सुभाष चन्द्र नेम्बाङ लगायतका नेताहरू पनि इलाम आउनु भएको छ । अध्यक्ष ओली इलाम आउने क्रममा झापाको बुधबारेमा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएको समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए। ओलीलाई पहिचानको आधारमा नाम राख्न नसकेको भन्दै कालो झण्डा समेत देखाउने प्रयास भएको थियो । अध्यक्ष ओली इलाम आउनु भए सँगै इलामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button