कानुनभन्दा बाहिर गएर गरिने सबै क्रियाकलाप रोक्न सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यक्रममा जानेक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुडा भएकोप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै त्यसको निन्दा गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनभन्दा बाहिर गएर गरिने सबै क्रियाकलाप रोक्न सरकार प्रतिबद्ध रहेको र आक्रमण प्रयासमा संलग्न एकजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँले प्रहरीको सुरक्षा व्यवस्थापनमा अध्यक्ष ओली सहभागी हुनुभएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पनि सदनलाई जानकारी गराउनुभयो ।
गृहमन्त्री श्रेष्ठले कुनैपनि नागरिकको सुरक्षा र अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले निरा पाण्डे आचार्यको हत्या सम्बन्धमा अनुसन्धान भइरहेकाले अव केही दिनमै त्यसको सत्यतथ्य सार्वजनिक हुने र दोषी पनि पक्राउन पर्ने जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले मिटरव्याजीको समस्या समाधानका लागि कानुन ल्याउने तयारी गरिरहेको र यसमा सरकार गम्भीरताका साथ लागिरहेको जानकारी दिनुभयो ।
सांसदहरुले उठाउनुभएको नागरिकता समस्याका विषयमा गृहमन्त्री श्रेष्ठले दलहरुबीच सहमति गरेर नागरिकता विहीन नेपालीको समस्या समाधान गर्न सकिने बताउनुभयो ।
यसअघि आजको बैठक सुरु भएलगत्तै सांसदहरुले देशका समसामयिक अवस्था बारे धारणा राख्नुभएको छ ।
बैठकमा सांसद पदम गिरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाने कार्यक्रममा केही व्यक्तिहरूले ढुङ्गामुडा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरु गगनकुमार थापा र बिजुला कुमारी रायमाझीले हालै काठमाडौँको सरस्वतीनगरमा व्यवसायी निरा पाण्डे आचार्यको हत्या भएकोमा घटना संलग्न हत्यारा खोजी गरी सत्यतथ्य बाहिर ल्याउन र अपराधीलाई कठघरामा उभ्याउन सरकारसमक्ष माग गर्नुभयो ।
सांसद प्रभु शाहले देशका विभिन्न स्थानमा भएका आगलागीका घटना र असिनापानीले क्षति पुगेका पीडितहरूको राहतका लागि माग गर्नुभयो ।
शून्य समयमा सांसदहरुले नागरिकता समस्या समाधान, आफ्ना क्षेत्रका सडक, बाटोघाटो निर्माण, खानेपानी तथा सिँचाइको समस्या, विकास निर्माणमा भइरहेको अवरोधलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्नुहुने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्