तपाईँ सुन्दै हुनुहुन्छः

खोकनाको जग्गा प्राप्तिको कामलाई छिट्टै टुङ्ग्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत ललितपुरको खोकनाको जग्गा प्राप्तिको कामलाई छिट्टै टुङ्ग्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समितिले काम अगाडि बढाएको र अब छिट्टै नै त्यसलाई समाधानका लागि सरकारले थप निर्णय लिने बताउनुभयो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा गठित सहजीकरण समितिले ललितपुर महानगरपालिका सहित सरोकारवाला पक्षहरूसँग समन्वय र सहकार्य गरेर कामलाई तीव्रता दिएको पनि मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने, जग्गा कित्ताकाटका विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको पनि मन्त्री ज्वालाले बताउनुभयो ।

यस्तै बैठकले कृषि विकास मन्त्रालयको कृषि वस्तुको गुणस्तर सम्बन्धी प्रस्तावलाई सम्बन्धित समितिमा पठाउने निर्णय गरेको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button