आज औलो दिवस मनाइँदै, जोखिम अझै कायमै

काठमाण्डौँ I शुन्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी भन्ने मूल नाराका साथ आज विश्व औलो दिवस विभिन्न कार्यक्रमका साथ मनाईदैछ ।
यसै अवसरमा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले आज काठमाण्डौँमा आयोजना गरेको अन्तरक्रियामा सन् २०२२ को औलोको सूक्ष्म स्तरीकरणको आधारमा आठ जिल्लाका नौ पालिका अन्तर्गतका १४ वटा वडा उच्च जोखिममा रहेको महाशाखाका निमित्त निर्देशक हेमन्त चन्द्र ओझाले जानकारी दिनुभयो ।
यसैगरी, १० जिल्लाका २४ पालिका अन्तर्गतका ३९ वडाहरू मध्यम जोखिम तथा ६७ जिल्लाका ४ सय १४ पालिका अन्तर्गतका २ हजार ३ सय १८ वडाहरू औलोको कम जोखिमको क्षेत्रमा रहेका छन् ।
तराइमा मात्र देखिने गरेको औलो पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत देखिन थालेको महाशाखाले जनाएको छ ।
औलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।
नेपालबाट सन् २०२२ मा औलो रोग शुन्यमा झार्ने रणनीति लिइए पनि अझै औलो रोगको जोखिम कायमै रहेको जनस्वास्थ्यबिद्हरुले जानकारी दिएका छन् । यद्यपि, नेपालमा यो रोगको निवारण सन् २०२५ सम्ममा गरिसक्ने लक्ष्य सरकारले लिएको छ ।
सरकारी स्वास्थ्य संस्थाहरूमा यो रोगको परीक्षण तथा उपचार निःशुल्क रुपमा हुँदै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्