तपाईँ सुन्दै हुनुहुन्छः

राउटे समुदायको व्यवस्थापन गर्न माग

दैलेख । जङ्गलको जडीबुटी र कन्दमूल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । तीनै तहका सरकारले राउटे समुदायको उचित व्यवस्थापनमा उच्च प्राथमिकता दिन आग्रह समेत गरिएको छ ।

नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्ने बताउनुभयो । सरकारले टोली परिचालन गरेर उनीहरूलाई आवश्यक पर्ने जिन्सी सामान प्रदान गर्नुपर्ने र नगद कारोबार बन्द गर्नुपर्ने भन्दै तीनै तहका सरकार यो विषयमा गम्भीर हुनुपर्ने नगरप्रमुख शर्माले बताउनुभयो ।

दैलेख उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताउनुभयो । उहाँले सरकारले पौष्टिक आहारको व्यवस्थासँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

सुशासनकर्मी युवराज शाहीले राउटे समुदायलाई कुलतबाट जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उनीहरुलाई बिस्तारै–बिस्तारै आत्मनिर्भर अभियानमा जोड्न उहाँले सुझाव दिनुभयो ।

यस्तै स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर नगद दिनुको सट्टा विकल्पमा आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधि लगायतका वस्तुको सहज उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

अहिले राउटे समुदाय दैलेख दुल्लु नगरपालिका १० को नाभिस्थान जङ्गलमा बस्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button