‘समर्पित शिक्षक र नयाँ प्रविधिको प्रयोगले मात्र शिक्षामा सुधार गर्न सकिन्छ’
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरू नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको भक्तपुरको मेधा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले समर्पित शिक्षक र नयाँ प्रविधिको प्रयोगले मात्र शिक्षा र विद्यालयमा सुधार गर्न सकिने बताउनुभयो ।

देशभरका सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने गरी अब्बल बनाउन सके विद्यार्थीको कमी नहुने बताउनुभयो । उहाँले मेधा मावि भक्तपुरको उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको चर्चा गर्दै भक्तपुरका धेरै सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरेकाले यहाँका उत्कृष्ट सामुदायिक विद्यालयमा थेग्नै नसक्ने गरि विद्यार्थीको चाप बढेको बताउनुभयो ।
कार्यक्रममा उहाँले पूर्व शिक्षक, कर्मचारी, विद्यालय निर्माणका लागि सहयोग पुर्याउने दाता एवं सहयोगीहरूलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरी सम्मान गर्नुभयो ।
विद्यालय भवन निर्माणका लागि शिक्षा जिल आयोजना कार्यान्वयन इकाईबाट रु. एक करोड नौ लाख, सुलर हिल्फे फ्युर नेपाल (जर्मनी) र आरपी फाउन्डेसनबाट रु. ५० लाख, रोटरी डिस्ट्रिक्ट ३२९२ यआरआर कार्यक्रम तथा रोटरी क्लब अफ भक्तपुरबाट रु. २८ लाख, भक्तपुर नगरपालिकाबाट रु. २५ लाखको सहयोग प्राप्त भएको र विद्यालयले रु. ११ लाख ७८ हजार ६३४ थप गरि कूल रु. दुई करोड २३ लाख ७८ हजार ६३४ को लागतमा निर्माण सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्