अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुखलाई चेम्बरको आग्रह
निजी क्षेत्रमैत्री कानून निर्माण हुन्छ : सभामुख घिमिरे

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो ।

“मुलुकको अर्थतन्त्र हाल जोखिमा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र निजी क्षेत्रलाई प्रतिकूल असर पर्ने कानूनी व्यवस्था नगर्न अनुरोध गर्दछौँ”, भेटमा मल्लले भन्नुभयो ।
चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरू भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ ।
सो अवसरमा सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानून निर्माण गर्न आफूले प्रयत्न गर्ने बताउनुभयो ।

“ऐन बनाउन मूलतः सरकार र राजनीतिक दलहरूकै भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “तर अभिभावकीय भूमिका निर्वाह गर्ने तपाईंहरुलाई विश्वास दिलाउँछु ।”
सभामुखले विषयगत समितिहरू गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरू दिन कमर्श पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्