तपाईँ सुन्दै हुनुहुन्छः

तीनवटै जिल्लाको उपनिर्वाचन शान्तिपूर्ण

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको तीनवटै जिल्लाको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ बजेदेखि मतदान जारी छ ।
जारी मतदानमा तनहुँ क्षेत्र नम्बर १ मा आज बिहान ११ बजेसम्म २१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिनुभयो ।

अहिलेसम्म तनहुँ–१ का सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
यता चितवन क्षेत्र नम्बर २ मा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि भएको मतदानमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

अहिलेसम्म चितवनमा भइरहेको उपनिर्वाचन अन्तर्गतका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

यस्तै, बारा क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बारामा जारी उपनिर्वाचनमा छिटफुट घटनाबाहेक शान्तिपूर्वक रुपमा मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर २ को उप निर्वाचनमा २० प्रतिशत मत खसेको छ ।

देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रमा निर्वाचन बिथोल्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारामा जारी मतदान बिथोल्न खोज्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका ४ का बृजकिशोर प्रसाद यादव, रौतहट बृदाबन नगरपालिका १ का दयाराम राउत र उमेश यादव पक्राउ परेका छन् ।

यस्तै बारा जिल्ला प्रसौनी गाउँपालिका ४ का मङ्गल प्रसाद साह, बारा कै देवताल गाउँपालिका ७ का रामसागर यादवलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रहरूमा उपनिर्वाचन भएको हो ।
यसैगरी, चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उहाँको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button