तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक महिना करदातालाई सम्मान

बागलुङ । बागलुङ नगरपालिकाले राजश्व सङ्कलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोत्साहन गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।

आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख राजु खड्काले बताउनुभयो ।

वैशाखको पहिलो करदाताको रुपमा बागलुङ नगरपालिका–३ की बन्दना श्रेष्ठलाई सम्मान गरिएको खड्काले बताउनुभयो । श्रेष्ठलाई नगरपालिकाको लोगोसहितको मायाको चिनो र दोसल्लाले सम्मान गरिएको उहाँको भनाइ छ ।

नगर उपप्रमुख खड्का भन्नुहुन्छ– “समयै कर बुझाउनुपर्छ भन्ने प्रेरणा मिलोस् भने हिसाबले यो अभियान थालेका हौँ, कर बढाएर नभई दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाडि बढेको छ, अब करले हैन रहरले कर तिरौँ भन्ने अभियान हो, मासिक रुपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करदातालाई सम्मान गर्न आइतबारदेखि शुरु गरेका छौँ ।”

नगरपालिकाले चालु आर्थिक वर्षमा नौ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हालसम्म झण्डै ५० प्रतिशत (पाँच करोड) मात्रै कर सङ्कलन गरेको छ । असार मसान्तसम्म राजश्व सङ्कलन लक्ष्य नजिकसम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button