तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा रनको उपाधि गोङवालाई

मकवानपुर । नयाँ वर्षको अवसरमा हेटौँडा उपमहानगरपालिकाद्वारा आयोजित हेटौँडा रनको उपाधि उमेश गोङवाले जितेका छन् । आइतबार आयोजित दौड प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ४ सेकेन्डमा पूरा गर्दै हेटौँडा–१४, बनेलधापका गोङवा च्याम्पियन बनेका हुन् ।

प्रतियोगितामा १९ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पार गरेका सोमप्रसाद न्यौपाने मकवानपुर जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङवा स्वतः प्रथम घोषित भएका हुन् । गोङवाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा २० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सञ्जीव मिजार द्वितीय र २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका सनिस लामा तृतीय भए । द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पुरस्कार वितरण गर्नुभएको थियो ।

हेटौँडाको बुद्ध चोकबाट सुरु भएको दौड कान्ति राजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्ध चोकमा आएर समापन भएको थियो । प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो । नगरवासीलाई दौडप्रति अभिरुचि बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button