तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा माटोको ढिस्कोले पुरिदा २ जना घाइते 

सल्यान । सल्यानमा माटोको ढिस्कोले पुरिदा दुई जना घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका २ स्थित ठिनवाङ खोलामा तार जाली भर्न खाडल खनिरहेको अवस्थामा माथिबाट आएको माटोको ढिस्कोले पुरेको हो । 

माटोको ढिस्कोले पुरिदा सल्यान बागचौर नगरपालिका-१ धारापानीका अन्दाजी १७ वर्षीय नवीन केसी र सोही ठाउँका अन्दाजी २५ वर्षीय राजन बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जेसिबिले तारजाली भर्ने खाडल खनिरहेको अवस्थामा माटोको ढिस्को खस्दा दुई जना पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । घाइते केसीको अवस्था गम्भीर रहेको र उनको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बस्नेतको अवस्था सामान्य रहेको र उनको बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको उहाँको भनाई छ । 

जेसिवि चालक सल्यान शारदा नगरपालिका १३ का २५ वर्षीय सुमन योगीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button