तपाईँ सुन्दै हुनुहुन्छः

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु  

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बस्ने एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । 

कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको आइतबार बिहान सेती प्रादेशिक अस्पताल धनगढीको आइसियु कक्षमा मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार मुटु रोगको समस्या भएकी महिलाको पीसीआर परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि ६ दिनअघि अस्पतालको कोभिड वार्डको आइसियुमा भर्ना गरिएको थियो । 

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । 

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

गत बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण दर बढेसँगै ‘एक्टिभ केश’(सक्रिय बिरामी)पनि बढेका छन् । 

हाल कञ्चनपुरमा एक र कैलालीमा २२ जना सक्रिय बिरामी छन् । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button