बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीको बिदाइ
मकवानपुर । काठमाडौँमा हुने बागमती प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने मकवानपुरे खेलाडीको शनिबार बिदाई गरिएको छ ।

जिल्ला स्तरीय प्रतियोगिताबाट छनौटमा परेका विभिन्न ६ खेलमा आबद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौँडामा औपचारिक कार्यक्रमबिच हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिदाई गर्नुभयो ।
काठमाडौँमा हुने १३ औँ राष्ट्रपति कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, उसुका कोच म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरिएको हो । प्रतियोगितामा सहभागी हुने मकवानपुरका ६४ जना खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समितिले ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गत वर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा मेयर लामाले जिल्लामा बढी मात्रमा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरूलाई आग्रह गर्नुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, हेटौँडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्