सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडे
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्नुभएको छ । सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो ।

कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नाइके प्रधानले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्दछ ।
जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने गर्दछ ।

महालक्ष्मी मन्दिरमा परिक्रमा समापन गरेपछि जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३ र ४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ । जसअनुसार उक्त प्रचलनले अहिलेसम्म निरन्तरता पाउँदै आएको हो ।
सवारी चालक सुजन यस अघि आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुनुहुन्छ । सुजनले परम्परा र संस्कृतिलाई निरन्तरता दिन र बुबा बुद्धकृष्णबाट प्रेरणा लिएर पहिलो पटक जिब्रो छेडेको बताउनुभयो ।
बिस्काः जात्राको अवसरमा मध्यपुर थिमिको बोडेमा मौलिक शैलीको जिब्रो छेड्ने जात्रा सञ्चालन हुँदै आइरहेको छ । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा रहेको छ ।
श्रेष्ठले गत सोमबार दाँ पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने पक्का गर्नुभएको थियो ।
जात्राको परम्परा अनुसार जिब्रो छेड्ने व्यक्तिले जात्राका नाइकेहरूलाई दाम चढाएर जिब्रो छेड्ने पक्का गर्नुपर्दछ । सोही अनुसार सुजनले विधिवत् रुपमा सगुन लिएर पमा नाइके जगतकृष्ण पिला श्रेष्ठको घरमा पुगेर दाम चढाउनुभएको हो ।
उहाँले पमा नाइके जगतकृष्ण पिला श्रेष्ठ, पमा माइला भासिंक, कर्मी नाइके कृष्णचन्द्र बाग श्रेष्ठ र नाय्खी बाजाका नाइके बुद्धि बहादुर खड्गीलाई चार दाम चढाउनुभएको थियो ।
बुद्धकृष्णले पहिलो पटक २०६२ साल जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो । २०६६ सालमा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाई बासँ श्रेष्ठले जिब्रो छेडाउनुभयो ।
जुजुभाईले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभयो । २०७३ सालमा जुजुभाईका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गर्नुभयो । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो ।
जात्राको हालसम्म प्राप्त प्रमाण अनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ । विसं १९६९ देखि १९९० सम्म हर्क नरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन पटक, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाउनुभएको तथ्याङ्क छ ।
त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँस श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास रहेको छ ।
मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौँ भक्तजनको सामुन्ने जिब्रो छेडिँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्