संरक्षणको अभावमा सङ्कटमा पर्दै दमाहा
बैतडी । बैतडीको प्रमुख बाजाका रुपमा रहेको दमाहा संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको छ ।
जिल्लाका दर्जनौँ ठाउँमा बजाउने तथा गाउनेहरू भए पनि सङ्गठित हुन नसक्दा बाजा तथा छलिया नाच नै सङ्कटमा पर्दै गएको हो ।

ठाउँ ठाउँमा छलिया कलाकार भए पनि उनीहरू सङ्गठित नभएको दशरथचन्द नगरपालिका–४ का करन दमाइले बताउनुभयो । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा छलिया बाजा चाहिएमा आफैले जुटाइदिने गरेको उहाँको भनाई छ । आफूले एक–एक जना गरी टिम बनाइदिने गरेको उहाँले बताउनुभयो ।
बैतडीको छलिया नाच राजधानी काठमाडौँ सहित भारतमा समेत चर्चित रहेको अधिकारकर्मी सरस्वती नेपाली बताउनुहुन्छ । उहाँले विभिन्न ठाउँमा छरिएर रहेका कलाकारहरूलाई सङ्गठित गर्न पहल गरिरहेको बताउनुभयो । आफूले नेतृत्व गरेको संघ संस्थाका माध्यमबाट छलिया बाजाका कलाकारहरूलाई सङ्गठित गर्न लागिपरेको उहाँले बताउनुभयो ।
हरेक स्थानीय तहमा कलाकारहरू रहेकाले उनीहरूको टोली बनाएर पुस्तान्तरणका लागि तालिम दिनुपर्ने नेपालीको भनाई छ । लोक कला संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकार अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्