नयाँ वर्ष मनाउन ठोरी पुगे हजारौँ पर्यटक
वीरगञ्ज । पर्साको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको ठोरीमा नयाँ वर्ष मनाउन हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् ।

नयाँ वर्ष २०८० को पहिलो दिन ठोरीमा पिकनिक तथा घुमफिर गर्न बारा, पर्सा, चितवनको माडीबाट समेत ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पुगेको र भारतीय पर्यटकहरूको सङ्ख्या समेत उल्लेख्य रहेको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो ।
विशेष गरी ठोरीको ठुटे खोला, राई धारा, गणेशमान पार्क, सिता गुफा, रानीबन, रातो पहाड लगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन बाक्लो सङ्ख्यामा पर्यटकहरूको आवागमन भएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिनुभयो ।
ठोरीको पिकनिक स्पटका रुपमा परिचित राई धारामा मात्र करिब १५ हजार पर्यटकहरू आएको उहाँको भनाई छ । नयाँ वर्षको एक दिनमा मात्रै ठोरीमा ५० लाख भन्दा बढीको कारोबार भएको ठोरीका होटल तथा पर्यटन व्यवसायीहरूले बताएका छन् ।
पर्साको ग्रामीण क्षेत्रका विभिन्न ठाउँ र वीरगञ्ज, पोखरीया, बाराको कलैया, सिमरा, जीतपुर लगायतका विभिन्न क्षेत्रबाट नयाँ वर्ष मनाउन पर्यटकहरू ठोरी पुगेका थिए । विभिन्न स्थानबाट परिवारसहित पर्यटकहरू बाक्लो सङ्ख्यामा नयाँ वर्ष मनाउन ठोरी आएको ठोरीका होटल व्यवसायी धीर सिंह घिमिरेले जानकारी दिनुभयो ।
ठोरीमा पछिल्लो समय चर्चामा रहेको ठोरी जङ्गल रिसोर्टका सञ्चालक समेत रहनुभएका व्यवसायी घिमिरेले शुक्रबार नयाँ वर्षको दिन आफ्नो रिसोर्टमा करिब २ हजार सर्वसाधारण घुमफिर तथा मनोरञ्जन गर्न आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्