सञ्चालक समिति सदस्यसहित रेडियो नेपालकर्मीलाई विभिन्न पदक प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरे बापत रेडियो प्रसार सेवा विकास समितिका सञ्चालकसमिति सदस्यसहित चार रेडियो नेपालकर्मीहरूलाई विभिन्न मानपदवी प्रदान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार आयोजित विशेष समारोहमा रेडियो प्रसार सेवा विकास समितिका सञ्चालक समिति सदस्य सिताराम पोखरेल र वरिष्ठ कार्यक्रम अधिकृत नवीनकुमार दाहाललाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणी पदक प्रदान गर्नुभएकाे हो भने रेडियो नेपालका कर्मचारीहरू मुकुन्द भण्डारी र अजय वमलाई जनसेवा श्री पञ्चम श्रेणी पदक प्रदान गर्नुभएकाे हाे ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गर्नुभएको थियो ।
मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गर्नुभएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।
राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गर्नुभएको हो।
पूर्वप्रधानमन्त्री स्व कोइरालालाई नेपाल रत्न प्रदान गरिएको थियो भने राष्ट्र गौरव राजनीतिज्ञ स्व जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । यसैगरी सुप्रसिद्ध प्रबल जनसेवाश्री डा जगमान गुरुङलाई प्रदान गरियो भने समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्