तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौँ । मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।

आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अङ्कले बढेको छ । बैङ्किङ समूह १६ दशमलव ७७, विकास बैङ्क समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अङ्कले बढेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निर्जीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ ।

पछिल्ला दिनहरूमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ६९ प्रतिशतले बढेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको एक लाख ८७ हजार पाँच सय ९४ कित्ता शेयर किनबेच भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button